काठमाडौँ, वैशाख २४ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघीयता खारेज गर्न प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत विचार राख्दै बास्कोटाले हालको संघीय संरचनामा परिवर्तन आवश्यक रहेको भन्दै प्रदेश तह हटाएर केन्द्र र स्थानीय तह मात्र राख्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार जिल्ला समन्वय समिति (जिसस) पनि अनावश्यक संरचना भएकाले खारेज गर्नुपर्ने हुन्छ।
उनले संविधान संशोधन गर्ने हो भने संरचना सरल बनाउनुपर्ने भन्दै ‘केन्द्र र पालिका मात्रै रहने व्यवस्था’ उपयुक्त हुने तर्क गरेका छन्।
बास्कोटाले राष्ट्रिय सभालाई १०५ सदस्यीय र पूर्ण समावेशी बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। उनका अनुसार त्यहाँ महिला–पुरुष समान ५०–५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने र उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष हुने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन्।
त्यस्तै उनले प्रतिनिधिसभामा हालको समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्। उनले प्रत्यक्ष निर्वाचनमा महिला र पुरुषको प्रतिनिधित्व ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने पनि बताएका छन्।






