जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण : यस वर्ष वर्षा कम, गर्मी बढी



काठमाडौं, वैशाख २५ । जल तथा मौसम विज्ञान विभाग ले मनसुन २०८३ को प्रारम्भिक प्रक्षेपण सार्वजनिक गर्दै यस वर्ष देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार मनसुन अवधिमा अधिकतम तथा न्यूनतम तापक्रम भने सरदरभन्दा बढी रहने अनुमान गरिएको छ ।

ललितपुरमा बिहीबार आयोजित कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईं ले आगामी मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

यद्यपि कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पश्चिमी भूभाग तथा कोशी प्रदेशका मध्य क्षेत्रहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको छ ।

विभागका अनुसार मनसुन अवधिभर देशभर अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्मको मनसुन अवधिलाई आधार मानेर सार्वजनिक गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको