काठमाडौं, वैशाख २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति आपत्ति जनाएका छन् । वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै उनले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयमाथि प्रश्न उठाउँदै यसले सरकारकै लागि ठूलो असफलताको कारण बन्न सक्ने चेतावनी दिएका छन् । उनले वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै आलोचना गरेका छन् ।
उनले आफ्नो पछिल्लो स्टाटसमा लेखेका छन्, “वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो । अध्यादेशको औचित्य पुष्टि गरेको यही होला । चुपचाप घण्टी छापको करामत !”
यसअघि बिहानै अर्को स्टाटस लेख्दै साम्पाङले प्रधानन्यायाधीश नियुक्तिमा वरीयताको ख्याल गरिएको हो वा होइन भन्ने प्रश्न उठाएका थिए । उनले संसद छलेर अध्यादेश ल्याइएको विषयमा समेत सरकारलाई प्रश्न गरेका छन् ।
साम्पाङले सरकारलाई “नीतिगत भ्रष्टाचारी सरकार” को संज्ञा दिँदै नियुक्ति प्रक्रियामा पारदर्शिता र संवैधानिक मर्यादा कायम गर्न आग्रह गरेका छन् ।






