देशभरका भूमिहीन माइतीघर मण्डलामा , सरकार विरुद्ध थाल ठटाउँदै



काठमाडौं , वैशाख २५। विकल्पबिनै बस्ती खाली गराउन थालेको भन्दै देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुमवासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूले शुक्रवार माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले थाल, प्लेट र चम्चा ठटाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले “डोजर चलाउन बन्द गर”, “व्यवस्थापन गर”, “विस्थापन होइन न्याय देऊ” र “मानव अधिकार देऊ” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले उचित व्यवस्थापन नगरी जबरजस्ती बस्ती हटाइएको भन्दै सरकारसँग तत्काल पुनर्स्थापना र आवासको माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले काठमाडौंका १६ वटा बस्तीबाट पछिल्ला नौ दिनमा १५ हजारभन्दा बढी नागरिक विस्थापित भएको दाबी गरेका छन् । सरकारद्वारा विस्थापित परिवारलाई विभिन्न स्थानमा निर्माण गरिएका होल्डिङ सेन्टरमा राखिएको बताइएको छ ।

भूमिहीन तथा सुकुमवासीहरूले दीर्घकालीन समाधान, सुरक्षित आवास र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको