काठमाडौं, वैशाख २५ । पूर्वमाओवादी नेता सुदन किराती अब श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको भूमिकामा रहने भएका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङ सँग भएको सहमतिअनुसार किरातीले पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।
किराती पक्षका एक नेताका अनुसार पार्टी संरचनामा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पनि समावेश गर्ने सहमति भएको छ ।
हर्क साम्पाङ र सुदन किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको बताइएको छ । आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजना हुने कार्यक्रममा दुवै नेताले पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । कार्यक्रम अपराह्न ३ बजेका लागि तय गरिएको छ ।
भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी यसअघि पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरूले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि किराती त्यसप्रति असन्तुष्ट बनेका थिए । त्यसपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए ।
प्रलोपा, जसको गठन माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा को पहलमा भएको थियो, त्यहाँ किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर २१ फागुनको निर्वाचनपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।




