एजेन्सी, वैशाख २५ । भारतीय जनता पार्टीले पश्चिम बंगाल विधानसभा चुनावमा बहुमत हासिल गरेपछि अब राज्यको नयाँ मुख्यमन्त्री चयन प्रक्रियामा जुटेको छ । शुक्रबार कोलकातामा हुने भाजपा विधायक दलको बैठकले नयाँ मुख्यमन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको हो ।
बैठकमा सहभागी हुन भारतका गृहमन्त्री अमित शाह शुक्रबार कोलकाता पुग्ने कार्यक्रम रहेको छ । भाजपा स्रोतका अनुसार बैठक कोलकाताको न्यूटाउनस्थित विश्व बांग्ला कन्भेन्सन सेन्टरमा साँझ ४ बजेदेखि सुरु हुनेछ ।
मुख्यमन्त्री पदका लागि नेता प्रतिपक्ष सुवेन्दु अधिकारी को नाम सबैभन्दा अगाडि रहेको बताइएको छ । उनले यसपटकको चुनावमा ममता बनर्जी लाई भवानीपुर क्षेत्रमा पराजित गरेका थिए ।
नयाँ सरकारको शपथग्रहण समारोह शनिबार, मे ९ मा कोलकाताको ऐतिहासिक ब्रिगेड परेड मैदानमा आयोजना हुने जनाइएको छ । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।
शपथ समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा शासित विभिन्न राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्री तथा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ ।






