प्रहरीको हस्तक्षेप पछि रोकियो १६ वर्षीय बालिकाको विवाह



सर्लाही, वैशाख २६ । सर्लाही जिल्लामा प्रहरीको हस्तक्षेप पछि १६ वर्षीय बालिकाको विवाह रोकिएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बालविवाह हुन लागेको जानकारी पछि प्रहरीले १६ वर्षीया एक बालिकाको बालविवाह हुनबाट रोकेको छ ।

बरहथवा नगरपालिका–६ स्थित मुसहर बस्तीमा बालविवाह हुन लागेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले समयमै पुगेर विवाह रोक्न सफल भएको हो ।

प्रहरीका अनुसार ती बालिकाको विवाह आगामी आइतबार सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४ पोखरियाका युवकसँग गर्ने तयारी गरिएको थियो । स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा प्रहरी, वडाध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको टोलीले बालिकाका अभिभावकलाई सम्झाइबुझाइ गरी विवाह रोकाएको महिला तथा बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्र बरहथवाकी इन्चार्ज प्रहरी निरीक्षक सुष्मा कठायतले जानकारी दिए ।

उनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुनविपरीत हुने भन्दै बालविवाह नगर्न तथा नगराउन सबैलाई सचेत गराइएको बताए ।

प्रहरीले पछिल्लो समय विद्यालय तथा समुदायस्तरमा पुगेर बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि प्रहरी निरीक्षक कठायतले बताए ।

प्रकाशित मिति: २०८३ बैशाख २६, शनिबार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको