रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान शुरु



ओम प्रकाश यादव

रौतहट, वैशाख २६ । जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” आजदेखि शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय गौरले सदरमुकाम गौरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो। अभियानमार्फत जिल्लाभित्र रहेका लागुऔषध सेवनकर्ताको पहिचान, उनीहरुको अवस्था अध्ययन, आवश्यक उपचार तथा पुनर्स्थापनामा जोड दिइने प्रहरीले जनाएको छ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले यो अभियानले जिल्लामा लागुऔषध प्रयोगकर्तालाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले लागुऔषध दुव्र्यसन केवल कानुनी कारबाहीको विषय मात्र नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या भएकाले यसको समाधानका लागि खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।

एसपी रिजालले स्थानीय तह, जनप्रतिनिधि, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायसँग समन्वय गरेर लागुऔषध सेवनकर्ताको पहिचान गरिने जानकारी दिए। पहिचान भएका व्यक्तिहरुलाई आवश्यक परामर्श, उपचार तथा लत छुटाउने कार्यक्रममार्फत समाजमा पुनःस्थापित गर्ने योजना रहेको उनले बताए।

उनले लागुऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा मात्र नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेर्नुपर्ने धारणा राख्दै, उनीहरुलाई सही मार्गमा ल्याउन परिवार, समाज र सरोकारवाला सबै पक्षको साथ आवश्यक रहेको उल्लेख गरे।

प्रहरीका अनुसार अब अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको खोजी, तथ्यांक संकलन, सचेतना कार्यक्रम, परामर्श सेवा तथा आवश्यक परे उपचारका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

रौतहटमा पछिल्लो समय युवापुस्तामा लागुऔषधको प्रयोग बढ्दै गएको भन्दै प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष रणनीतिसहित अभियान सञ्चालन गरिएको जनाएको छ।

अभियान सफल बनाउन समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयले लागुऔषधविरुद्धको यो अभियानलाई केवल नियन्त्रणमा सीमित नराखी सुधार र पुनर्स्थापनासँग जोडेर अगाडि बढाउने स्पष्ट पारेको छ।

प्रहरीले अभिभावक, शिक्षक, समाजसेवी तथा सर्वसाधारणलाई समेत लागुऔषधविरुद्ध सचेत रहन र शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख २६, शनिबार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको