कोलकाता, वैशाख २६ । भारतको पश्चिम बंगालमा राजनीतिक रूपमा ऐतिहासिक परिवर्तन भएको छ । भारतीय जनता पार्टी (भाजपा) ले सुवेन्दु अधिकारी लाई पश्चिम बंगालको नयाँ मुख्यमन्त्री चयन गरेको छ ।
शुक्रबार केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको नवनिर्वाचित भाजपा विधायक दलको बैठकले सुवेन्दु अधिकारीलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो । आज कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा आयोजित विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ ।
भाजपाले पश्चिम बंगाल विधानसभा निर्वाचनमा २९४ मध्ये २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।
बैठकमा २०६ जना भाजपा विधायक सहभागी भएका थिए । सुवेन्दु अधिकारी दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले कुल संख्या २०६ पुगेको बताइएको छ । विधायक दलको नेताका लागि उनको नाम प्रस्ताव भएपछि अन्य कुनै दाबेदार नआएकाले सर्वसम्मत निर्णय गरिएको अमित शाहले जानकारी दिएका छन् ।
बैठक न्यू टाउनस्थित विश्व बांग्ला कन्भेन्सन सेन्टरमा आयोजना गरिएको थियो । बैठकका लागि अमित शाह मुख्य पर्यवेक्षक तथा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझी सह–पर्यवेक्षकका रूपमा सहभागी भएका थिए ।
सुवेन्दु अधिकारीको उदयको प्रमुख कारण उनले तृणमूल कांग्रेस प्रमुख ममता बनर्जी लाई चुनावमा पराजित गर्नु मानिएको छ । यसअघि २०२१ मा नन्दीग्राममा ममता बनर्जीलाई हराएका अधिकारीले यसपटक भवानीपुर निर्वाचन क्षेत्रमा पनि ठूलो मतान्तरले विजय हासिल गरेका हुन् ।
निर्वाचन परिणामपछि पश्चिम बंगालमा राजनीतिक तथा संवैधानिक विवादसमेत चर्किएको थियो । ममता बनर्जीले हार स्वीकार नगरेको र कानुनी लडाइँ लड्ने चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आज हुने शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भाजपा शासित विभिन्न राज्यका मुख्यमन्त्री तथा उच्च राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।
शपथसँगै सुवेन्दु अधिकारी पश्चिम बंगालको नवौं मुख्यमन्त्री तथा राज्यमा भाजपा सरकारको नेतृत्व गर्ने पहिलो मुख्यमन्त्री बन्नेछन् ।






