एजेन्सी, वैशाख २६। होर्मुज क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी नौसेनाले इरानी जहाज तथा होर्मुज आसपासका क्षेत्रमा आक्रमण गरेपछि इरानले मिसाइल र ड्रोनमार्फत जवाफी हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रिपोर्टअनुसार अमेरिकी नौसेनाले बिहीबार राति इरानका दुई जहाज र केही टापु आसपास हमला गरेको थियो । उक्त आक्रमणमा एक जहाजमा आगलागी हुँदा १० नाविक घाइते भएका छन् भने पाँच जना बेपत्ता भएका थिए । तीमध्ये एक जनाको शव शुक्रबार फेला परेको बताइएको छ ।
यसको जवाफमा इरानी सेनाले अमेरिकी युद्धपोतहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ । घटनापछि करिब एक महिनाअघि भएको युद्धविराम गम्भीर संकटमा परेको विश्लेषण गरिएको छ ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्धविराम कायम रहेको दाबी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनालाई “इरानमाथिको प्रेमपूर्ण प्रतिक्रिया” भन्दै युद्धविराम नटुटेको बताएका हुन् । उनले इरानले सम्झौता नगरे थप कडा सैन्य कारबाही हुन सक्ने चेतावनीसमेत दिएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघची ले भने अमेरिका कूटनीतिक समाधानको सम्भावना बढ्नासाथ गैरजिम्मेवार गतिविधिमा उत्रिने गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत अहिले अवस्था पुनः सामान्य बन्दै गएको दाबी गरेका छन् ।
यसैबीच संयुक्त अरब इमिरेट्स ९यूएई० ले इरानबाट दुई ब्यालिस्टिक मिसाइल र तीन ड्रोनमार्फत हमला भएको दाबी गरेको छ । यूएई रक्षा मन्त्रालयका अनुसार सबै आक्रमण हवाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको छ । घटनामा तीन जना घाइते भएको जनाइएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड ९सेन्टकम० ले इरानी जहाजहरूले अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेपछि कारबाही गरिएको जनाएको छ । इरानले भने अमेरिकी सैन्य जहाजहरूलाई होर्मुज स्ट्रेट र चाबहार आसपास निशाना बनाएको दाबी गरेको छ ।
घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा पनि असर परेको छ । कच्चा तेलको मूल्य झण्डै तीन प्रतिशतसम्म बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यसैबीच, होर्मुज क्षेत्रमा चिनियाँ तेल ट्यांकरमाथि भएको कथित आक्रमणप्रति चीनले चिन्ता व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयले घटनाप्रति चासो देखाउँदै क्षेत्रीय स्थिरता कायम गर्न आग्रह गरेको छ ।
इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रजा आरिफ ले इरानले अमेरिका र इजरायलविरुद्ध चाँडै ठूलो जीत हासिल गर्ने दाबी गरेका छन् । उनले इरानमाथिका प्रतिबन्ध र दबाब हट्ने अवस्था नजिक पुगेको बताएका छन् ।






