सप्तरी, वैशाख २८ । आगलागिबाट सर्वस्व गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामा टोलका अग्नीपीडितको पीडामा मलहम लगाउन सरोकारवालाहरुले सहयोगी हात बढाउन थालेको छ । जसकारण थोरै भएपनि उनीहरु राहत महसुस गर्न थालेका छन् ।
यस क्रममा सप्तरी उद्योग बाणिज्य संघका पदाधिकारीहरु घटनास्थलमै पुगेर आगलागिबाट पीडित भएका १० परिवारलाई खाद्यान्न, भाडाकुडा र त्रिपाल लगायतका राहत सामाग्रि प्रदान गरेको छ ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालका अनुसार महासचिव अमृत संचेतीको नेतृत्वमा राहत सामाग्रिसहित पठाइएको टोलीले अग्निपीडित परिवारलाई चामल, भुजा, दाल, खानेतेल, नुन, पानी, त्रिपाल, तरकारी, जग, बाल्टिन लगायतका सामाग्रि बितरण गरेको छ ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अगुवाईमा पुगेको टोलीले पनि अग्निपीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, झुल लगायतका राहत सामाग्रि बितरण गरेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
शनिबार राती विद्युत सर्टभई भएको आगलागिमा उक्त टोलका १० परिवारका २० घर जलेर खरानी भएको थियो ।






