सर्लाही, वैशाख २८ । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको हो। आइतबार साँझ करिब ४ स्३० बजे स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला पारेको जनाएको छ। शव अत्यधिक सडेकाले मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। साथै मृतकको पहिचान खुलाउने प्रयाससमेत जारी रहेको प्रहरीको भनाइ छ।






