काठमाडौं , वैशाख ३१ । सम्भावित बाढीपहिरोको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने बिपी राजमार्गमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
प्रहरीका अनुसार वैशाख ३१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
यस्तै, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले हिल्सा–सिमकोट सडकखण्डमा पनि यातायात सेवा अवरुद्ध गरिएको छ ।
च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म सडकखण्ड बन्द गरिएको प्रहरीले जनाएको छ ।






