होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी



एजेन्सी, जेठ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः कडा चेतावनी दिँदै होर्मुज स्ट्रेटमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। उनले उक्त अन्तर्राष्ट्रिय जलमार्गमा कुनै पनि प्रकारको ‘टोल’ व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

ओभल अफिसमा बिहीबार (मे २१) सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले गरेको नाकाबन्दीका कारण होर्मुज स्ट्रिटमा आफ्नो पूर्ण नियन्त्रण कायम रहेको बताए। उनले “यो १०० प्रतिशत प्रभावकारी छ, फलामको पर्खालजस्तै” भन्दै जलमार्गलाई स्वतन्त्र रूपमा सञ्चालन हुन दिनुपर्ने धारणा राखे।

ट्रम्पले होर्मुज स्ट्रेट अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग भएकाले त्यहाँ कुनै शुल्क वा अवरोध स्वीकार नगर्ने बताएका छन्। इरानले उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने वा टोल लगाउने संकेत दिएपछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

यसैबीच, ट्रम्पले इरानसँग रहेको समृद्ध (एनरिच्ड) युरेनियममाथि पनि अमेरिका कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। इरानले ठूलो परिमाणमा एनरिच्ड युरेनियम राख्न नपाउने उल्लेख गर्दै उनले अमेरिका त्यसलाई नियन्त्रणमा लिएर नष्ट गर्न सक्ने बताए। साथै, इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीति यथावत रहेको उनको भनाइ थियो।

अर्कोतर्फ, अमेरिका र इरानबीच जारी तनावका बीच अमेरिका नियन्त्रणमा रहेको एक जहाजका २० इरानी नाविकलाई फिर्ता पठाइएको जनाइएको छ। ती नाविक इस्लामाबाद हुँदै तेहरान पुगेका बताइएको छ।

अमेरिका–इरान सम्बन्धमा पछिल्लो समय बढ्दो तनाव र होर्मुज स्ट्रेटको रणनीतिक महत्वका कारण अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ०७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको