बारा, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद उत्पन्न भएपछि कार्यकर्ताले सांसदहरूलाई बैठकस्थलबाट बाहिर निकालेका छन्।
शनिबार कलैयामा आयोजित बैठक जिल्ला अधिवेशनलगायत संगठनात्मक विषयमा छलफल गर्न बोलाइएको थियो। बैठकमा रास्वपाका प्रतिनिधिसभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह र गणेश धिमाल सहितका नेताहरू सहभागी थिए।
स्थानीय नेताहरूका अनुसार बैठकमा संस्थापन पक्षमाथि दबाब सिर्जना गर्ने प्रयास भएको आरोपपछि विवाद सुरु भएको थियो। विवाद चर्किंदै जाँदा कार्यकर्ताबीच नाराबाजी र होहल्ला भएको बताइएको छ।
स्थिति तनावपूर्ण बनेपछि कार्यकर्ताले सांसदहरूलाई बैठकस्थलबाट बाहिर निकालेका थिए। घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरी बैठकस्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
यसअघि रास्वपाले बारा जिल्लाका संस्थापक सभापति तथा स्थानीय नेता चन्दन स्वर्णकार लाई पार्टीबाट निष्कासन गरेको थियो। सो निर्णयपछि बारा जिल्लाभित्र पार्टीमा विवाद बढ्दै आएको बताइएको छ।






