राजविराज, जेठ ९ । लालपूर्जा माग्दै राजविराजका नगरवासीले शुक्रबार साँझदेखी नगरपालिकाकै सभाकक्षमा अनसन सुरु गरेका छन् ।
यसअघि सरोकारवाला निकायलाई सात दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्र उपर कुनै चासो नदेखाइएको भन्दै नगरवासीले अनसन थालेका हुन् ।
शुक्रबार साँझसम्म कार्यवाहक नगरप्रमुख इसरत परविनसँग चलेको वार्ता निश्कर्षविहीन र आश्वासनमा मात्र सीमित भएकाले बाध्य भई वार्ता स्थल नगरपालिकाको सभा कक्षमै अनसन थालिएको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले जानकारी दिए ।
हाम्रो जायज माग पुरा गराउन आफू पनि गम्भिर रहेको भन्दै आएकी कावा मेयर परविन प्रतिवद्धता अनुसार कार्य नगरेको तथा विभिन्न वहानामा समय लम्ब्याउँदै गएकाले बाध्य भई आन्दोलनमा जानु परेको संयोजक दासको भनाई छ ।
यसअघि जनआन्दोलन परिचालन समितिले गत बैशाख २४ गते लापूर्जाबिहीन नगरका ५ हजार २ सय परिवारलाई लालपूर्जा प्रदान गर्नुपर्ने एक सूत्रिय माग अघि सार्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नापी कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय र राजविराज नगरपालिका कार्यालयलाई सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो । तर सो समयसीमा सकिएपनि सरोकारवाला कुनै निकायले पनि सक्रियता नदेखाएको लालपूर्जाविहीन नगरवासीको गुनासो छ ।
यसअवधीमा नापी कार्यालयले नगरपालिका कार्यालयसँग रायसहितको जवाफ माग्ने र नगरपालिकाले उचित जवाफ दिन ढिलाई गरेकोले अनसन थालेको आन्दोलनकारीहरुको भनाई छ ।
राजविराजको मुख्यबाजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन नसकेको तथा समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वितिय संस्थामा उक्त जग्गा धितो राखीपाउँदै गरेको ऋण सुविधा पनि विगत ८ वर्ष देखि रोकिदा नगरवासी समस्यामा परेका छन् ।
बि.स. २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँब्लकमा रहेको भनि नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको छ । यस्तै २०१६ सालदेखि २०७५ साल सम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरि सकेको भएपनि हालसम्म नगरवासी लालपूर्जा पाउनबाट बञ्चित छन् ।






