काठमाडौँ, जेठ ९ । शशांक कोइरालाले नेपाली कांग्रेस लाई एकताबद्ध बनाउन आवश्यक रहेको बताएका छन्। पार्टीभित्रको विभाजन अन्त्य गरी साझा समझदारीका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिदै कांग्रेस एक नभए देशको भविष्य अन्धकारमा जाने बताएका हुन्।
पूर्वसभापति शेरबहादुर देउवा निकट गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सर्वोच्च अदालतको निर्णयका कारण कांग्रेस विभाजित अवस्थासम्म पुगेको दाबी गरे।
“कांग्रेस दुई पटक फुट्यो, विगतमा समूह थिए तर अहिलेको जस्तो अवस्था थिएन। पार्टी किन फुट्यो भन्ने प्रश्नमा सर्वोच्च अदालतको भूमिकालाई पनि हेर्नुपर्छ,” उनले भने।
बीपी कोइराला का पुत्रसमेत रहेका कोइरालाले विगतको सशक्त र वैचारिक कांग्रेस अहिले कमजोर अवस्थामा पुगेको भन्दै त्यसको असर निर्वाचन परिणाममा समेत देखिएको उल्लेख गरे।
उनले आगामी १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर पार्टी एकताका लागि दुवै पक्षका प्रमुख नेताहरूलाई समेटेर समिति गठन गर्न सकिने सुझाव दिए। “वार्ता एउटा विकल्प हुन सक्छ। दुवै पक्षका मुख्य व्यक्तिलाई राखेर समिति बनाएर अघि बढ्नुपर्छ,” उनले भने।
कोइरालाले पार्टी एकताका लागि नेताहरूले ठूलो हृदय देखाउनुपर्ने धारणा राख्दै कांग्रेस एक नभए मुलुकको भविष्यसमेत जोखिममा पर्ने चेतावनी दिए।
“जबसम्म कांग्रेस एक हुँदैन, केवल पार्टीको होइन नेपालको भविष्य नै अन्धकारमा जान सक्छ। विदेशी हस्तक्षेप र अस्थिरताको खतरा बढ्न सक्छ,” उनले भने।
संविधानको रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उनले आफूलाई कुनै पद वा स्वार्थ नचाहिएको र पार्टी एकता नै आफ्नो मुख्य चाहना भएको बताए। “पार्टी एक भए राष्ट्र बच्छ, हामी पनि बच्छौँ। यो ठूलो जिम्मेवारी हाम्रो काँधमा छ,” उनले जोड दिए।






