मोवाइल चोरीको आरोपमा कुटिएका चनरको मृत्यु



सप्तरी, जेठ ११ । मोवाइल चोरीको आरोपमा कुटिएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ गंगापुर टोलका ४० वर्षिय चनर सरदारको चरम यातना र कुटपिट कै कारण मृत्यु भएको परिवारजनले दाबी गरेको छ ।

मृतक परिवारले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषिमाथी कडा कारवाहीको माग समेत गरेका छन् ।
सरदार शनिबार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका थिए । न्याय खोज्दै आइतबार सप्तरी सदरमुकाम राजविराज आइपुगेकी मृतकका पत्नी देवकी देवीका अनुसार मोवाइल चोरी गरेको आरोपमा गाउँकै भुवनेश्वर यादव र उनका आफन्तले शुक्रबार बिहान श्रीमान चनरलाई नियन्त्रणमा लिई कुटपिट गर्दै चरम यातना दिएका थिए ।

कुटाईबाट सिकिस्त भएका श्रीमानलाई शनिबार बिहान पैसाको बन्दोबस्त गरेर उपचारका लागि अस्पताल लैजाने उनको योजना थियो । तर शनिबार एकाविहानै शौचका लागि निस्केको बेला बाटोमै लडेर चनरको मृत्यु भएको थियो ।

“नियन्त्रणमा लिएर चरम यातना र कुटपिट गरिएकाले सिकिस्त भएका श्रीमानको मृत्यु भएको हो, देवकीले भनिन्–“पोष्टमार्टमका क्रममा पनि चिकित्सकले उनको शरीरको विभिन्न भागमा चोटपटकको निशान देखिएको बताएका छन् ।”
उनले चरम यातना र कुटपिट कै कारण श्रीमानको मृत्यु भएको दाबी गरिन । उनले घर परिवार पाल्ने एक मात्र सहारा गुमेपछी आफूसहित चार सन्तानको विचल्ली भएको दुःखेसो पोखेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरले अनुसन्धान गरिरहेको जानकारी दिए । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक राजन रायमाझीले मोवाइल चोरी गरेको आरोपमा नियन्त्रणमा लिई कुटपिट गरेको भनिएका आरोपित व्यक्ति भुवनेश्वरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

चोरीको आरोपमा चनरलाई नियन्त्रणमा लिएर कुटपिट गरिरहेको भनी स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले त्यहाबाट चनरलाई मुक्त गराई परिवारजनको जिम्मा लगाएको थियो, प्रहरी नायब उपरिक्षक रायमाझीले भने “भोली पल्ट उनको मृत्यु भएको दुःखद खबर आयो ।” उनले मृतकको पोष्टमार्टम रिपोर्ट तथा अन्य कोणबाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रकाशित मिति: २०८३ जेष्ठ ११, सोमबार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको