सप्तरी, जेठ ११ । भारोत्तोलन संघ सप्तरीको आयोजनामा सोमबारदेखी सप्तरी सदरमुकाम राजविराजमा प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु भएको छ ।
जेठ १३ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागिय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै सात वटै प्रदेशका महिला÷पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले यस्ता प्रतियोगिताबाट नयाँ नयाँ प्रतिभा उत्पादन हुनुका साथै नगर र जिल्लालाई चिनाउन पनि ठूलो मद्दत पुग्ने बताइन् । विकासका अन्य क्षेत्रसँगै खेलकुदलाई पनि आफूले उच्च प्राथमिकतामा राखेको भन्दै उनले यसका लागि प्रत्येक खेलमा नगरपालिकाबाट लगानी गरिएको र यसलाई निरन्तरता दिने बताइन् ।
भारोत्तोलन संघ सप्तरीका अध्यक्ष पुन्तिलाल यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक मिठुसेन पार्थो गुप्ता, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, पूर्व वडाअध्यक्ष प्रेम यादवलगायतले शुभकामना दिएका थिए ।
पहिलो दिनको खेलमा नेपाल प्रहरीका भारोत्तोलक हिरामोती थारुले ४८ केजी तौल समूहमा नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् । उनले क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ केजी तौल उचालेर नयाँ किर्तिमान रचेको निर्णायक मण्डलका सदस्य रुकेश तण्डुकारले जानकारी दिए ।
यस्तै ५३ किलो तौल समूहमा महिलातर्फ सिनियर÷जुनियर दुबैमा सप्तरीकी अमृता यादव स्वर्ण पदक जितेकी छिन् । उक्त तौल समूहमा झापाकी करिना चौधरी र नेपाली सेनाका रक्षा धामी क्रमशः रजत र काश्य पदक जितेकी छिन् ।
यस्तै जुनियर र युथको महिलातर्फ दुबैमा सप्तरीकी सन्ध्या कुमारीले स्वर्ण पदक हात पारेकी छिन् । ४८ केजी जुनियर र युथ दुबैमा सप्तरीकै अम्बिका यादव स्वर्ण पदक जितेकी छिन ।
आयोजक समितिका उपाध्यक्ष गोपाल प्रसाद गुप्ताका अनुसार प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको प्रतिष्पर्धाहरु हुनेछ ।






