काठमाडौं, जेठ ११ । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन्द्र साहको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन ।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रवक्ता पोखरेलले रास्वपा सभापति लामिछाने आफ्नो व्यक्तिगत कार्यक्रमअनुसार भारत गएको स्पष्ट पारे।
‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग कुनै सम्बन्ध छैन,’ उनले भने।
प्रवक्ता पोखरेलका अनुसार प्रधानमन्त्री शाह हाल भारत मात्र नभई अन्य कुनै पनि देश भ्रमणको तयारीमा छैनन्। सरकार गठनपछिको प्रारम्भिक १०० दिनको कार्ययोजनालाई प्राथमिकता दिइएकाले विदेश भ्रमण तत्कालको प्राथमिकतामा नरहेको उनको भनाइ छ।
उनले सरकार अहिले सुरुवाती कामकाजमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री विदेश भ्रमणभन्दा कार्यसम्पादनमा बढी केन्द्रित रहेको बताए।
‘प्रधानमन्त्रीज्यूको भारत जाने वा अन्य कुनै देश भ्रमण गर्ने समय आएपछि त्यसबारे जानकारी हुनेछ। अहिले विदेश भ्रमणभन्दा काममै बढी ध्यान केन्द्रित गरिएको छ,’ पोखरेलले भने।






