श्याम कुमार ठाकुर
सिरहा, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयको विरोधमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनअन्तर्गत सोमबार धनगढीमाई नगरपालिका–९ को जिरोमाइल चोकमा चक्काजाम गर्दै प्रदर्शन गरिएको हो।
आन्दोलनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। चक्काजामका कारण केही समय यातायात सेवा प्रभावित हुँदा यात्रु तथा सवारी चालकहरूले सास्ती व्यहोर्नुपरेको थियो।
नेपाल सरकारले २१ वैशाख २०८३ मा नेपाल राजपत्रमार्फत सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो। स्थानीयवासीहरूले भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, स्थानीय आर्थिक गतिविधि तथा राजस्व संकलनमा प्रत्यक्ष असर पर्ने बताएका छन्।
प्रदर्शनमा सहभागीहरूले स्थानीयको भावना विपरीत सरकारले निर्णय गरेको आरोप लगाउँदै उक्त निर्णय सच्याउन माग गरेका छन्। उनीहरूका अनुसार भन्सार कार्यालय बन्द भए सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि कमजोर हुनुका साथै सयौं व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।
यसअघि पनि आन्दोलनकारीहरूले २५ वैशाखदेखि २७ वैशाखसम्म चरणबद्ध आन्दोलन गरेका थिए। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले आन्दोलनकारीसँग समन्वय गरी राजमार्ग खुलाउने प्रयास गरेका थिए भने स्थानीय प्रशासनले सम्बन्धित निकायसँग छलफलमार्फत समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।







