सिरहा, जेठ १२ । सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी तथा नागरिकमैत्री बनाउने उद्देश्यसहित सिरहामा ‘शासकीय सुधार संवाद श्रृङ्खला–१०’ कार्यक्रम सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सिरहा नगरपालिका–७ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा प्रशासनिक अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा। भिष्म कुमार भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललगायत करिब ७० देखि ७५ जनाको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रममा सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा पारदर्शिता, सरकारी कार्यालयहरूबीच समन्वय, प्रशासनिक सुधार तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा केन्द्रित भएर छलफल गरिएको थियो।
आयोजकका अनुसार सरकारी निकायलाई थप जिम्मेवार, उत्तरदायी र परिणाममुखी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यस्ता संवाद श्रृङ्खला सञ्चालन हुँदै आएका छन्।
सहभागीहरूले सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्दै प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन अन्तरनिकाय समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।






