पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरी मधेश आन्दोलनका मुद्दालाई थप सशक्त रूपमा अघि बढाउने जसपा नेपालको निर्णय



जनकपुरधाम, जेठ १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरी मधेश आन्दोलनका मुद्दालाई थप सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ ९, १० र ११ गते बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समन्वय समितिको बैठकले निर्वाचन परिणाम अप्रत्याशित र अपेक्षाभन्दा कमजोर आएको निष्कर्ष निकालेको हो।

जसपा नेपालले जारी गरेको निर्णयपत्रमा निर्वाचन प्रक्रिया, शक्ति केन्द्रहरूको भूमिका तथा परिणामबारे विभिन्न कोणबाट प्रश्न उठिरहेको उल्लेख गर्दै आगामी दिनमा यथार्थ समीक्षा गरी पार्टीलाई थप सुदृढ बनाइने जनाएको छ।

बैठकले विगतका मधेश जनविद्रोह, जनआन्दोलन र संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, मौलिक हक, नागरिक स्वतन्त्रता तथा समावेशिताजस्ता उपलब्धिको रक्षा गर्दै राजनीतिक स्वतन्त्रता, समानता र सामाजिक न्यायका मुद्दामा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ।

निर्णयअनुसार जसपा नेपालले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडावर्ग तथा अल्पसंख्यक समुदायको पहिचान, अधिकार, प्रतिनिधित्व र न्याय सुनिश्चित गर्न थप सशक्त राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ।

त्यस्तै, पार्टीले भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, विधिको शासन, संवैधानिक सर्वोच्चता, वातावरण संरक्षण, गरिबी तथा असमानता न्यूनीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र समान अवसरको सुनिश्चिततामा केन्द्रित भएर अघि बढ्ने जनाएको छ।

जसपा नेपालले संघीय प्रणालीको प्रभावकारी कार्यान्वयन, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा सुधार, किसान र श्रमजीवी वर्गका समस्याको समाधानका लागि शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलनलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ १२, मंगलवार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको