बलवा नगरपालिकामा साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न



महोत्तरी, जेठ ३१ । महोत्तरीको बलवा नगरपालिका लाई साक्षर नगरपालिका घोषणा गराउने उद्देश्यका साथ लागत साझेदारीमा आधारित शिक्षक तथा विद्यार्थीहरूका लागि एक दिने साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखा बलवा नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मैथिली बल्लभ माध्यमिक विद्यालय, पडौलमा आयोजना गरिएको थियो। कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा साक्षरताको महत्व, समुदायमा शिक्षाको पहुँच विस्तार, विद्यालय उमेरका बालबालिकाको नियमित अध्ययन तथा निरक्षर नागरिकहरूलाई साक्षर बनाउने अभियानका विषयमा छलफल गरिएको थियो। सहभागीहरूलाई साक्षरता अभियानलाई प्रभावकारी बनाउन आवश्यक रणनीति, समुदायमा जनचेतना अभिवृद्धि गर्ने उपाय तथा स्थानीय तहको भूमिकाबारे जानकारी गराइएको थियो।

कार्यक्रमको समन्वय रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपाल ले गरेका थिए। संस्थाहरूले साक्षरता अभियानलाई सफल बनाउन स्थानीय सरकारसँग सहकार्य गर्दै आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक राजकिशोर झा ले बलवा नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिकाका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउन तथा निरक्षरता न्यूनीकरण गर्न विशेष योजना तयार गरिएको छ।

संयोजक झाले नगरपालिकाका ११ वटै वडामा साक्षरता कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायका सबै पक्षको सक्रिय सहभागिताबाट मात्र अभियान सफल हुने बताए। उनले साक्षरता केवल अक्षर चिन्ने विषय मात्र नभई व्यक्तिको जीवनस्तर सुधार, सामाजिक चेतना अभिवृद्धि तथा समग्र विकासको आधार भएको उल्लेख गरे।

कार्यक्रमका सहभागीहरूले साक्षरता अभियानलाई समुदायसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बलवा नगरपालिकाले आगामी दिनमा वडास्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्य हासिल गर्ने विश्वास लिएको जनाएको छ।

प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार २०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको