रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आजदेखि, निर्वाचन प्रक्रियासमेत सुरु हुने



चितवन, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुँदैछ। उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।

प्रदर्शनी केन्द्रका तीनमध्ये दुई ठूला हल बन्दसत्रका लागि र अर्को हल प्रतिनिधिहरूको खाना तथा खाजा व्यवस्थापनका लागि प्रयोग गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ।

कार्यसूचीअनुसार बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्। उक्त प्रतिवेदनमाथि पनि प्रतिनिधिहरूबीच छलफल गरिनेछ। बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन् भने त्यसमाथि छलफल हुनेछ।

यस्तै, बिहान १०ः४५ बजे सहमहामन्त्रीद्वारा पार्टी विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गरी छलफल तथा अनुमोदन गरिने कार्यक्रम तय गरिएको छ। पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसलाई छलफलपछि अनुमोदन गरिनेछ।

बन्दसत्रमा अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ।

आजैदेखि निर्वाचन प्रक्रिया

दिउँसो भोजनपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया, आचारसंहिता र निर्वाचन तालिकाबारे जानकारी गराउनेछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेबाट उम्मेदवारी फाराम वितरण सुरु हुनेछ। उम्मेदवारी दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ भने साँझ ६ बजे प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।

साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ। त्यसपछि राति ९ बजेसम्म उजुरीमाथि छानबिन गरिने र उम्मेदवारले राति ९ः१५ बजेसम्म नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। उम्मेदवारको अन्तिम नामावली राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनअन्तर्गत असार ९ गते बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। मतदानमार्फत एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ।

मतदान सम्पन्न भएपछि मतगणना गरी करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। आवश्यक परे दोस्रो चरणको निर्वाचन प्रक्रिया त्यसपछि अघि बढाइने जनाइएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बन्दसत्रमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुनेछन्।

उल्लेखनीय रूपमा, महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनस्थित गेष्टहाउस चौरमा भव्य रूपमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०८३ असार ८, सोमबार ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको