अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा जारी, ‘नयाँ अध्याय’ सुरु गर्न ट्रम्पको निर्देशन



एजेन्सी, असार ८ । क्षेत्रीय तनाव अन्त्य गर्दै अन्तिम सम्झौतामा पुग्ने उद्देश्यसहित अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा उच्चस्तरीय वार्ता जारी रहेको छ। कतार र पाकिस्तानको मध्यस्थतामा सुरु भएको वार्ता लुसर्नस्थित बर्गेनस्टक रिसोर्टमा भइरहेको छ।

वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार छलफल रातभरि जारी रहने अपेक्षा गरिएको छ। दुवै पक्षबीच गत साता ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएपछि आइतबार औपचारिक वार्ता सुरु भएको हो।

अमेरिकी पक्षका अनुसार वार्ता मुख्यतः इरानबाट आएका केही अस्पष्ट सन्देशहरू स्पष्ट पार्ने विषयमा केन्द्रित छ। स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः सञ्चालन, दक्षिणी लेबनानमा युद्धविरामको कार्यान्वयन तथा आणविक सम्झौताका विभिन्न पक्षबारे छलफल भइरहेको जनाइएको छ।

को–को छन् वार्तामा ?

अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स, राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर तथा विशेष दूत स्टिभ विटकोफ सहभागी छन्। इरानको प्रतिनिधिमण्डलको नेतृत्व सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन् भने विदेशमन्त्री अब्बास अराघची पनि वार्तामा सहभागी छन्।

पाकिस्तानका प्रधानमन्त्री र सेनाप्रमुख तथा कतारका प्रधानमन्त्रीसमेत स्विट्जरल्यान्डमा उपस्थित रहेका छन्। पाकिस्तान र कतारले युद्धकालभर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्।

‘नयाँ अध्याय’ सुरु गर्न निर्देशन

वार्ता सुरु हुनुअघि अमेरिकी उपराष्ट्रपति तथा प्रमुख वार्ताकार जेडी भान्सले राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई अमेरिका–इरान सम्बन्धमा “नयाँ अध्याय” सुरु गर्न निर्देशन दिएको बताएका थिए।

भान्सले भने, “यदि इरानले क्षेत्रीय अस्थिरता निम्त्याउने गतिविधि र आणविक हतियार विकास गर्ने महत्वाकांक्षा त्याग्न तयार हुन्छ भने अमेरिका पनि सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन इच्छुक छ।”

इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी दोहोर्याएको छ।

ट्रम्पको चेतावनी, इरानको प्रतिवाद

वार्ता जारी रहेका बेला राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले लेबनानमा सक्रिय आफ्ना समर्थित समूहहरूलाई नियन्त्रण गर्नुपर्ने चेतावनी दिएका थिए। उनले त्यसो नगरे इरानमाथि पुनः कडा कारबाही हुन सक्ने संकेत गरेका थिए।

ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानी सभामुख गालिबाफले धम्कीले आफूहरूलाई प्रभावित नगर्ने बताएका छन्। उनले अमेरिकाको दबाब असफल भएको दाबी गर्दै इरान आफ्नो अडानमा दृढ रहेको बताएका छन्।

लेबनानमा तनाव कायम

गत साता भएको प्रारम्भिक सहमतिमा लेबनानसहित विभिन्न मोर्चामा युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने प्रतिबद्धता समावेश थियो। तर त्यसयता दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीचको भिडन्त पुनः चर्किएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालैका इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारणको मृत्यु भएको छ।

यही तनावबीच अमेरिकाले इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको पहल गरे पनि झडप पूर्ण रूपमा रोकिएको छैन। इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरे पनि समुद्री जहाजहरूको आवागमन भने जारी रहेको बताइएको छ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्तरी इजरायलको सुरक्षाका लागि आवश्यक परेसम्म आफ्ना सेना दक्षिणी लेबनानमै रहने बताएका छन्। हिजबुल्लाहका नेता नइम कासेमले भने इजरायली सैन्य उपस्थितिलाई अस्वीकार गर्दै आफ्नो संगठनले प्रतिरक्षा जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: २०८३ असार ८, सोमबार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको