कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित दर्जनौं घाइते, १३ जनाको मृत्यु



एजेन्सी, असार ९ । कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विस्फोटमा नेपाली नागरिकसहित विभिन्न देशका दर्जनौं कामदार घाइते भएका छन्। घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिक गरी १३ जनाको मृत्यु भएको कतारी अधिकारीहरूले पुष्टि गरेका छन्।

कतारका ऊर्जा मन्त्री साद अल कावीका अनुसार विस्फोटमा ६६ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये नेपाली, कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली तथा नाइजेरियाली नागरिक रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। यद्यपि घाइतेहरूको नामावली सार्वजनिक गरिएको छैन।

दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ। दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाएको छ।

घटनाबारे जानकारी दिँदै ऊर्जा मन्त्री अल–काबीले विस्फोट कुनै आक्रमण वा तोडफोडको परिणाम नभई औद्योगिक दुर्घटना भएको स्पष्ट पारे। “यो दुर्घटना हो, कुनै शत्रुतापूर्ण गतिविधि वा सुरक्षा चुनौतीसँग सम्बन्धित घटना होइन,” उनले बताएका छन्।

पश्चिम एसियामा पछिल्ला वर्षहरूमा देखिएको सुरक्षा तनावका कारण सुरुमा यस घटनालाई सम्भावित आक्रमणका रूपमा हेरिएको थियो। विशेषगरी विगतमा क्षेत्रीय द्वन्द्वका क्रममा इरानद्वारा खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरिएका घटनाका कारण आशंका उत्पन्न भएको थियो। तर कतार सरकारले प्रारम्भिक अनुसन्धानपछि घटनामा कुनै बाह्य आक्रमणको संलग्नता नरहेको जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ आकाशतर्फ उडेको देखिएको थियो। विस्फोटको आवाज राजधानी दोहाबाट करिब ६४ किलोमिटर टाढासम्म सुनिएको बताइएको छ। सुरक्षाकर्मी र उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको थियो।

कतार सरकारका अनुसार आगलागी आइतबार रातिनै पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ। घटनापछि ग्यास उत्पादन, निर्यात तथा स्थानीय आपूर्तिमा कुनै असर नपरेको ऊर्जा मन्त्रालयले जनाएको छ। साथै वातावरणीय प्रभावसमेत न्यून रहेको दाबी गरिएको छ।

विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादन केन्द्रमध्ये एक मानिने रस लाफान क्षेत्रमा भएको यस दुर्घटनापछि सुरक्षा मापदण्ड र औद्योगिक संरचनाको अवस्थाबारे थप अनुसन्धान सुरु गरिएको कतारी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: २०८३ असार ९, मंगलवार ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको