काठमाडौं, असार ९ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद महन्थ ठाकुरले वर्तमान सरकार राष्ट्रिय हितभन्दा बाह्य शक्तिको स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद ठाकुरले सरकारका गतिविधिले मुलुकको स्वतन्त्रता र स्वाधीनतामाथि प्रत्यक्ष असर पारिरहेको दाबी गरे।
उनले सरकार नेपाली जनताको आवश्यकता र हितभन्दा बाहिरी शक्तिको चासोअनुसार अघि बढिरहेको आरोप लगाउँदै त्यसबाट विदेशी पक्षहरू सन्तुष्ट देखिएको बताए।
“राज्यको अवस्था प्रभावकारी छैन। जनताको हातमा केही पनि छैन। हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ। बाह्य शक्तिहरूले विभिन्न क्षेत्रमा प्रभाव जमाइसकेका छन् र उनीहरूलाई खुसी पार्ने गरी काम भइरहेको छ,” ठाकुरले बैठकमा भने।
सांसद ठाकुरले सरकारको प्राथमिकतामा देश र जनता नरहेको टिप्पणी गर्दै वर्तमान गतिविधिका कारण मुलुक क्रमशः बाह्य प्रभावको चपेटामा परेको दाबी गरे।
उनले राष्ट्रिय स्वाधीनता, जनहित र मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।






