ओम प्रकाश यादव
रौतहट, असार ९ । रौतहटको माधवनारायण नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले तलब भत्ता वृद्धि, सामाजिक सुरक्षा तथा अन्य आवश्यक सेवा–सुविधाका लागि विशेष बजेट व्यवस्था गर्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा विद्यालयका लेखापाल, कार्यालय सहयोगी तथा अन्य कर्मचारीहरूले नगरपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय कार्यालयको निर्देशनअनुसार सोमबार बेलुका परिषद्को माधवनारायण नगरपालिकाका अध्यक्ष एवं माध्यमिक विद्यालय माधोपुरका लेखापाल सुदामा महतो कोइरीको नेतृत्वमा दर्जनौँ कर्मचारीहरू नगरपालिकामा पुगेका थिए। उनीहरूले आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति, कार्यक्रम तथा बजेटमा आफ्ना मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका छन्।
ज्ञापनपत्रमा विद्यालयको दैनिक प्रशासन, वित्तीय व्यवस्थापन तथा शैक्षिक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारीहरू हाल न्यून सेवा–सुविधामा काम गर्न बाध्य रहेको उल्लेख गरिएको छ।
विद्यालय सहयोगी, लेखापाल, कार्यालय सहयोगीलगायत कर्मचारीहरूले लामो समयदेखि सीमित तलब–भत्ता र न्यून सुविधामा सेवा दिँदै आएको जनाएका छन्।
त्यसैले आगामी बजेटमार्फत तलब–भत्ता वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा अन्य आवश्यक सेवा–सुविधा विस्तारका लागि विशेष बजेट विनियोजन गर्न नगरपालिकासँग माग गरिएको छ।
विद्यालय कर्मचारीप्रति न्यायपूर्ण व्यवहार गर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत आफ्ना मागहरू सकारात्मक रूपमा सम्बोधन हुने अपेक्षा गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले कर्मचारीहरूको माग आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा प्रस्तुत गर्ने तथा सम्भव भएसम्म सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।






