सप्तरी, असार ९ । सप्तरी सदरमुकाम राजविराजस्थित समाजिक विकास इकाई कार्यालय सप्तरीका प्रमुख अनिल कुमार यादवको आर्थिक वर्षको अन्तिम समयमा गरिएको सरुवाले सेवा प्रभावित बन्न पुगेको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आर्थिक वर्षको अन्त्यतीर गरिएको सरुवाले यस्तो समस्या उत्पन्न भएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव शुशिल कुमार साह तेलीद्वारा मिति २०८३ असार ५ गतेको मिति राखी पठाईएको चलानी नं ७३१ को पत्रानुसार उनलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
पत्रमा २०८३ साल असार ५ गते माननिय मन्त्रीस्तरीय निर्णय अनुसार “तपाई श्री अनिल कुमार यादवलाई सामाजिक विकास इकाइ कार्यालय सप्तरीको इकाइ प्रमुख पदबाट फिर्ता बोलाइएको” उल्लेख छ ।
मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यतीर कर्मचारी सरुवा गर्ने र फिर्ता बोलाउने कार्यले एकातिर सेवा प्रभावित बनेको छ भने अर्काे तीर कर्मचारी सरुवा गरेर इच्छाएको कर्मचारी पठाउने चलखेल ब्यापक बनेको छ ।
स्थानीय उमाकान्त साहले सहज ढंगबाट कार्यालयको कार्य मम्पादन भइरहेका बेला मनपरी ढंगले गरिएको सरुवाले समस्या र शंका दुबै उब्जाएको बताए । यता असार मसान्तको अन्त्यतीर गरिएको सरुवा प्रकरणको विरोध प्रदेश सभामा समेत उठेको छ । अघिल्लो दिन आईतवार मधेश प्रदेश सभासदस्य एवं पुृर्व अर्थमन्त्री महेश प्रसाद यादवले कडा आपत्ती जनाउदै अबिलम्ब यस्ता कार्य रोकिनु पर्ने माग गरेका छन । उनले राम्रो ढंगले कार्यसम्पादन गर्दै आएका कर्मचारीलाई सरुवा गरेर इच्छाएको कर्मचारीलाई पठाउने र आर्थिक लाभ लिने चलखेल भइरहेको भन्दै सरकार प्रमुखको ध्यानाकर्षण गराए ।
उनले आर्थिक वर्षको अन्त्यतीर मनपरी ढंगले गरिएको सरुवाका कारण कार्यालयको कामकाज प्रभावित हुने र सेवाग्राही मारमा पर्ने गरेको भन्दै अविलम्ब यस्ता गतिवीधी रोक्नुपर्ने माग गरे ।
मन्त्रालयको अदुरदर्शिताका कारण यस्ता समस्या उत्पन्न भएको कर्मचारीहरु समेतको गुनासो छ । नाम नछापी दिन आग्रहका साथ एक कर्मचारीले भने–सम्बन्धित मन्त्रालयका मन्त्री ज्युले नै मुख्यमन्त्री कार्यालयमा दबाव सिर्जना गरेर कर्मचारी सरुवाको चलखेलमा लागेपछी यस्तो अवस्था आएको हो । राम्रो भन्दा पनि हाम्रो मान्छे छान्ने प्रवृतिले सबैतीर लथालिङ्ग भएको हो ।”
यसरी मनपरी भइरहेको सरुवाको विरोधमा कतिपय कर्मचारी अदालत सम्म पुगेका छन । कतिपय कर्माचारी त अदालतको आदेशबाट काम गरिरहेकै कार्यालयमा पुर्नवहाली समेत भइसकेका छन ।






