एजेन्सी, असार ९। अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग भएको अन्तरिम सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सम्झौताबाट पछि हटे अमेरिकाले कडा कदम चाल्ने चेतावनी दिएका छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले ईरानले सम्झौताको मर्मअनुसार व्यवहार नगरे वा प्रतिबद्धता उल्लंघन गरे आफू आवश्यक कदम चाल्न तयार रहेको बताए। उनले भने, “यदि ईरान सम्झौताअनुसार अघि बढेन भने मैले जे गर्नुपर्छ, त्यही गर्नेछु।”
गत साता अमेरिकी प्रशासन र मौसुद पाजिस्कन नेतृत्वको ईरानी सरकारबीच अन्तरिम समझदारी भएको थियो। पछिल्ला महिनाहरूमा अमेरिका, इजरायल र ईरानबीच बढेको सैन्य तनावका बीच उक्त सम्झौता भएको हो। यसअघि अमेरिका र इजरायलले ईरानमाथि आक्रमण गरेका थिए भने त्यसको प्रतिकारस्वरूप ईरानले इजरायल र अमेरिकी सैन्य उपस्थिति रहेका खाडी क्षेत्रका केही स्थानहरूलाई निशाना बनाएको थियो।
ट्रम्पले ईरानका लागि रोक्का गरिएको केही रकम विशेष सर्तसहित उपलब्ध गराइएको जानकारी पनि दिए। उनका अनुसार उक्त रकम ईरानले अमेरिकाबाट खाद्यान्न खरिद गर्न मात्रै प्रयोग गर्न पाउनेछ।
उनले यस व्यवस्थाबाट अमेरिकी कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने दाबी गरे। “हामीले उपलब्ध गराएको रकम अन्ततः अमेरिकी किसानहरूकै हातमा पुग्नेछ, किनभने ईरानलाई आवश्यक खाद्यान्न अमेरिकाबाट खरिद गर्नुपर्नेछ,” ट्रम्पले बताए।
अमेरिका–ईरान तनावका कारण मध्यपूर्व क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको छ। विभिन्न सैन्य कारबाही तथा प्रतिआक्रमणका कारण हजारौं मानिसको ज्यान गएको तथा लाखौं नागरिक विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस संघर्षको प्रभाव विश्व अर्थतन्त्रमा समेत परेको छ। अन्तर्राष्ट्रिय शेयर बजारमा उतारचढाव देखिनुका साथै कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। ऊर्जा आपूर्तिसम्बन्धी अनिश्चितताले विश्व बजारमा थप दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
अमेरिका र ईरानबीच भएको पछिल्लो समझदारीले तनाव कम गर्ने अपेक्षा गरिए पनि दुवै पक्षले सम्झौताको कार्यान्वयनलाई लिएर सतर्कता अपनाइरहेका छन्।






