महोत्तरी, असार ९ । महोत्तरीको बलवा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड १२ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर कार्यपालिकाले नगरसभामा प्रस्तुत गरेको बजेट विवरणअनुसार आगामी आर्थिक वर्षका लागि कुल ५५ करोड १२ लाख १८ हजार रुपैयाँ आम्दानी तथा खर्चको अनुमान गरिएको हो।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त अनुदान, विशेष तथा समपूरक अनुदानलाई प्रमुख आयस्रोतका रूपमा समावेश गरेको छ। त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा स्थानीय आन्तरिक स्रोतबाट हुने आम्दानीलाई समेत बजेटको आधार बनाइएको छ। बजेटमा स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, महिला तथा बालबालिका, सामाजिक सुरक्षा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ ।
प्रस्तुत विवरणअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ करिब १२ करोड ४४ लाख २० हजार रुपैयाँ, सशर्त अनुदानतर्फ २५ करोड १५ लाख रुपैयाँभन्दा बढी तथा राजस्व बाँडफाँटमार्फत उल्लेख्य रकम प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आन्तरिक राजस्वबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। बजेटमा गत आर्थिक वर्षको मौज्दात रकम समेत समावेश गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले नगरसभामा पेश गरिएको बजेट विवरण सम्बन्धित मन्त्रालयमा समेत पठाइएको जानकारी दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय–व्यय अनुमान नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक गरिएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिने, आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्ने तथा कृषि उत्पादन र रोजगार सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बजेट कार्यान्वयन प्रभावकारी भएमा नगर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बलवा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटले विकास, सेवा प्रवाह र स्थानीय आवश्यकतालाई समेट्ने प्रयास गरेको नगरपालिकाको दाबी छ। बलवा नगरपालिकाका जेठो सदस्य बैवे लाल राउतको प्रमुख आतिथ्य तथा नगरपालिकाका मेयर रामबिजय महतोको विशेष आतित्थयमा सम्पन्न १२ औ नगरसभामा सो बजेट पेश गरिएको थियो ।







