तेहरान, असार १० । ईरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यको नियन्त्रण आफ्नो हातमै रहने स्पष्ट गरेको छ। अमेरिका र ईरानबीच हालै भएको शान्ति सहमतिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरूमध्य खुला राख्ने विषयमा दाबी गरिरहेका बेला ईरानले फरक धारणा सार्वजनिक गरेको हो।
ईरानी संसदका सभामुख तथा वार्ता टोलीका प्रमुख सदस्य मोहम्मद बाघेर गालिबाफले होर्मुज जलडमरूमध्य अब युद्धअघिको अवस्थामा नफर्किने बताएका छन्। उनले जलडमरूमध्यको प्रशासन र व्यवस्थापन इस्लामिक गणतन्त्र ईरानकै नियन्त्रणमा रहने स्पष्ट पारे।
स्विट्जरल्यान्डबाट फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गालिबाफले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवतजावत व्यवस्थापनका लागि विशेष सञ्चार संयन्त्र स्थापना गर्न ईरान सहमत भएको जानकारी दिए। साथै, ईरानको रोक्का गरिएको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति पनि फुकुवा गरिने सहमति भएको दाबी गरे।
अमेरिकाप्रति अझै अविश्वास
गालिबाफले ईरानलाई अमेरिकामाथि कुनै भरोसा नरहेको पनि स्पष्ट पारे। उनले भने, “हामीले अमेरिकामाथि कहिल्यै विश्वास गरेका छैनौं, अहिले पनि छैनौं र भविष्यमा पनि सावधानी अपनाउनु उचित हुन्छ।”
ईरान र अमेरिकाबीच पछिल्ला केही महिनादेखि जारी तनाव र सैन्य टकरावपछि दुवै पक्ष वार्तामार्फत समाधान खोज्न सहमत देखिए पनि विश्वासको संकट भने अझै कायम रहेको संकेत ईरानी नेतृत्वले दिएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग
फारसी खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिन्छ। विश्व बजारमा आपूर्ति हुने ठूलो परिमाणको कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यस क्षेत्रमा हुने कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्यको विषयमा ईरानको पछिल्लो अभिव्यक्तिले अमेरिका–ईरान सम्बन्धमा देखिएको अस्थायी सुधारबीच पनि रणनीतिक प्रतिस्पर्धा समाप्त नभएको संकेत दिएको छ।






