जनकपुरधाम, असार १० । मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७ प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै नेपालको प्रमुख आँप उत्पादन केन्द्रको रूपमा आफ्नो पहिचान कायम राखेको छ। उर्वर भूमि, अनुकूल हावापानी र किसानहरूको मेहनतका कारण मधेशलाई ‘आँपको राजधानी’ समेत भन्ने गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका अनुसार नेपालभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। यसबाट वार्षिक ५ लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ, जहाँबाट वार्षिक ३ लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
तथ्याङ्कअनुसार देशको कुल आँप उत्पादनमध्ये ७७।१ प्रतिशत हिस्सा मधेश प्रदेशको रहेको छ। प्रदेशमा बम्बई, माल्दा, दसहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जर्दालुलगायत ४० भन्दा बढी जातका आँप उत्पादन हुने गरेका छन्।
जिल्लागत रूपमा हेर्दा सिराहा आँप उत्पादनमा पहिलो स्थानमा रहेको छ। सिराहामा वार्षिक १ लाख ४ हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुन्छ। त्यसपछि सप्तरीमा ९६ हजार मेट्रिक टन, रौतहटमा ६२ हजार ५६१ मेट्रिक टन, सर्लाहीमा ३९ हजार ११८ मेट्रिक टन, धनुषामा ३६ हजार ९१६ मेट्रिक टन, महोत्तरीमा ३२ हजार ७२२ मेट्रिक टन, बारामा १९ हजार २६९ मेट्रिक टन तथा पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
धनुषाको बटेश्वरका युवा किसान फुलगेन महतोले मधेश आँप उत्पादनको केन्द्र भए पनि किसानहरूले उचित मूल्य नपाइरहेको गुनासो गरे । उनका अनुसार किसानहरू हाल प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा आँप बिक्री गर्न बाध्य छन्।
बजारीकरणको समस्यालाई समाधान गर्ने उद्देश्यले बटेश्वरमा विगत तीन वर्षदेखि आँप मेला–महोत्सव आयोजना हुँदै आएको छ। महतोका अनुसार हजारौं परिवार प्रत्यक्ष रूपमा आँप खेतीमा आबद्ध छन् भने वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पनि आधुनिक बगैँचा स्थापना गरी यस क्षेत्रमा आकर्षित भइरहेका छन्।
नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ, मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले स्थानीय आँपको व्यवस्थित भण्डारण र बजारीकरणमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले आँपलाई प्रशोधन गरी अचार, अमोट, जाम, जुस, स्क्वासलगायत उत्पादनमा रूपान्तरण गर्न सके किसानले थप लाभ लिन सक्ने उल्लेख गरे ।
उनले आँपलाई पर्यटनसँग जोडेर ‘म्याङ्गो टुरिजम’ विकास गर्न सकिने सम्भावना औंल्याउँदै मिथिला संस्कृति, स्थानीय परिकार र आँपजन्य उत्पादनलाई एकीकृत गरी पर्यटन प्रवर्द्धन गर्न सकिने बताए।
नेपाल उद्योग परिसङ्घ, मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले आँप मधेशको आर्थिक सम्भावनाको महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, भण्डारण र निर्यातलाई व्यवस्थित बनाउन सरकारी पहल आवश्यक रहेको बताए।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. सञ्जयकुमार यादवले आँप उत्पादन र बजार विस्तार मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए। उनका अनुसार प्रशोधन केन्द्र स्थापना, भण्डारण सुविधा विस्तार तथा आँपजन्य वस्तुको उत्पादन र निर्यातका लागि मन्त्रालयले विभिन्न योजना अघि बढाइरहेको छ।
“आँप उत्पादनलाई अझ आधुनिक, प्रविधिमैत्री र निर्यातमुखी बनाउने हाम्रो लक्ष्य छ। यसले मधेश प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” सचिव यादवले बताए ।






