जनकपुरधाममा इन्डोनेसियाको चर्चित ब्रान्ड ‘आईचा’को पहिलो आउटलेट सञ्चालन



जनकपुरधाम, असार २०। इन्डोनेसियाको चर्चित फुड एण्ड बेभरेज ब्रान्ड आईचाले नेपालमा पहिलो पटक आफ्नो सेवा विस्तार गर्दै जनकपुरधाममा पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि जनकपुरधामको मिल्स एरियामा औपचारिक रूपमा सञ्चालनमा आएको आईचा आइसक्रिम एण्ड टीको स्टोर मार्फत ग्राहकले अन्तर्राष्ट्रियस्तरका आइसक्रिम, चिया तथा कफीको स्वाद लिन पाउने भएका छन्।

आउटलेटका प्रोपराइटर यशवर्धन सर्राफका अनुसार नेपालमै पहिलो पटक आईचाको आधिकारिक फ्रेन्चाइज जनकपुरधाममा सञ्चालनमा ल्याइएको हो। उनले अन्तर्राष्ट्रिय ब्रान्डलाई जनकपुरधाममा भित्र्याउन सफल हुनु सम्पूर्ण जनकपुरवासीका लागि गर्वको विषय भएको बताए।

उनका अनुसार आईचा हाल विश्वका ३३ भन्दा बढी देशमा विस्तार भइसकेको अन्तर्राष्ट्रिय ब्रान्ड हो। यसका २ हजारभन्दा बढी आउटलेटहरू सञ्चालनमा रहेका छन्। विश्वभर एउटै गुणस्तर र स्वाद कायम राख्ने उद्देश्यका साथ कम्पनीले निश्चित मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।

सर्राफले आईचाका सम्पूर्ण उत्पादनहरू आधुनिक तथा अटोमेटिक प्रविधिबाट निश्चित मापदण्डअनुसार तयार गरिने भएकाले ग्राहकले संसारको जुनसुकै आईचा स्टोरमा गए पनि समान स्वाद र गुणस्तरको अनुभव गर्न सक्ने दाबी गरे। “हामीले अन्तर्राष्ट्रिय स्तरको सेवा र स्वाद जनकपुरधाममै उपलब्ध गराउने लक्ष्य लिएका छौं,” उनले भने।

उनले जनकपुरधामका उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राखेर उत्पादनको मूल्य निर्धारण गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय ब्रान्ड भए पनि आइसक्रिम, विभिन्न फ्लेभरका चिया, कफी तथा अन्य पेय पदार्थको मूल्य सर्वसाधारणले सहज रूपमा खरिद गर्न सक्ने गरी राखिएको उनको भनाइ छ।

स्टोरमा विभिन्न स्वादका प्रिमियम आइसक्रिम, मिल्क टी, फ्रुट टी, कफी तथा अन्य पेय पदार्थ उपलब्ध रहेको जनाइएको छ। आधुनिक प्रविधि, स्वच्छता र गुणस्तरीय सेवामा विशेष ध्यान दिइएको स्टोरले युवा पुस्तादेखि परिवारसम्मका ग्राहकलाई लक्षित गरी सेवा सञ्चालन गरेको छ।

सर्राफका अनुसार जनकपुरधामपछि कम्पनीले काठमाडौं र पोखरामा पनि छिट्टै आफ्ना नयाँ आउटलेट सञ्चालन गर्ने तयारी गरिरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तारसँगै गुणस्तरीय खाद्य तथा पेय सेवाको पहुँच बढ्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा समेत आईचाको सेवा विस्तार गर्ने योजना रहेको बताए।

जनकपुरधाममा अन्तर्राष्ट्रिय ब्रान्डको आगमनले स्थानीय व्यवसाय, पर्यटन तथा रोजगारीका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेषगरी युवामाझ लोकप्रिय बन्दै गएको अन्तर्राष्ट्रिय फुड ब्रान्डको उपस्थितिले जनकपुरधामको व्यावसायिक वातावरणलाई थप चलायमान बनाउने विश्वास स्थानीय व्यवसायीहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ असार २०, शनिबार ०९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको