बलवा (महोत्तरी), असार २१ । महोत्तरीको बलवा नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाभित्रका तोकिएका उमेर समूहका नागरिकले आवश्यक साक्षरता मापदण्ड पूरा गरेपछि आयोजित विशेष समारोहबीच नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
बलवा नगरपालिकाका मेयर राम विजय महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभा सदस्य सुरिता साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, शिक्षक, सामाजिक अगुवा, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य सुरिता साहले साक्षरता कुनै औपचारिक उपलब्धिमा मात्र सीमित नभई समाजको समग्र विकासको आधार भएको बताउनुभयो। उहाँले शिक्षामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै गुणस्तरीय शिक्षाको विस्तार गर्न स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बलवा नगरपालिकाले हासिल गरेको साक्षर घोषणाको उपलब्धि सम्पूर्ण नगरवासीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले साक्षरता अभियानलाई दिगो बनाउन निरन्तर सिकाइ, प्राविधिक शिक्षा, सीप विकास तथा जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले स्थानीय सरकार, शैक्षिक संस्था तथा समुदायको संयुक्त प्रयासले बलवा नगरपालिका साक्षर घोषणा हुन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पूर्ण शैक्षिक गुणस्तर हासिल गर्ने दिशामा अग्रसर हुनुपर्ने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा बलवा नगरपालिकाका मेयर राम विजय महतोले नगरपालिकालाई साक्षर घोषणा गरिनु सम्पूर्ण नगरवासीको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले शिक्षालाई नगरपालिकाको प्राथमिकतामा राखेर विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
उहाँले साक्षर घोषणा अन्तिम लक्ष्य नभई शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षाको विकास तथा पूर्ण शैक्षिक रूपान्तरणतर्फको महत्वपूर्ण सुरुवात भएको उल्लेख गर्नुभयो। नगरपालिकाले आगामी दिनमा शिक्षा क्षेत्रलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने गरी आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले साक्षर समाज निर्माणले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको धारणा राखेका थिए।
समारोहमा साक्षरता अभियानमा योगदान पुर्याउने शिक्षक, कर्मचारी, स्वयंसेवक तथा सरोकारवाला संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो। नगरपालिकाले साक्षरता अभियानलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय, समावेशी र जीवनोपयोगी शिक्षाको माध्यमबाट समृद्ध बलवा निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। सेभ द चिल्ड्रिेन, आसमान नेपाल र रतौली युवा क्लवको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा बलवा नगरपालिकालाई पूर्ण रुपमा साक्षर घोषणा गर्न सफल भएको बलवा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकिशोर झाले जानकारी दिनु भयो । उहाँले बलवा नगरपालिकाको अगुवाईमा तीनै संस्था सहयोगी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।







