एजेन्सी, साउन २८ । अमेरिकाको टेक्सस राज्यमा अमेरिकी सेनाको एएच–६४ अपाचे अट्याक हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।
बुधबार टेक्ससको बेल काउन्टीस्थित एक खेतमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटनापछि लागेको आगोका कारण आसपासका केही घर खाली गराउनुपरेको थियो।
बेल काउन्टी शेरिफ कार्यालयका प्रवक्ता क्लिफ कोलम्यानका अनुसार दुर्घटनामा हेलिकप्टरमा सवार दुवै जनाको मृत्यु भएको हो। उनका अनुसार हेलिकप्टर कुनै घर वा अन्य संरचनासँग ठोक्किएको थिएन।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे फोर्ट हुडको क्रिमिनल इन्भेस्टिगेसन डिभिजनले अनुसन्धान गरिरहेको छ।
कार्यवाहक कमान्डिङ जनरल ब्रिगेडियर जनरल एथन डिभेनले घटनास्थल सुरक्षित गर्नु र प्रारम्भिक राहत तथा उद्धार प्रयासमा सहयोग गर्नु तत्कालको प्राथमिकता रहेको बताएका छन्।
उनले दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाबारे थप जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने बताएका छन्।






