काठमाडौँ , साउन २९ । पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ गर्न र कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध हुन आह्वान गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै अपील जारी गर्दै देउवाले आफू कुनै पदको आकांक्षासहित नभई विनम्र सेवक र आजीवन नागरिकका रूपमा मुलुक तथा जनताको सेवा गर्न फर्किएको बताएका छन्। उनले नयाँ पुस्तासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।
स्वास्थ्य अवस्थाबारे चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्दै देउवाले विगतका असहमति, विभाजन र विद्वेषका घाउ बिर्सेर प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न सबै पक्षलाई आग्रह गरेका छन्।
उनले २०२० सालदेखि आफूले गर्दै आएको राजनीतिक संघर्ष स्मरण गर्दै कांग्रेस लोकतन्त्र र स्वतन्त्रताका लागि लामो संघर्ष तथा बलिदानको इतिहास बोकेको पार्टी भएको बताएका छन्। बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रजहरूको योगदान पद वा प्रतिष्ठाका लागि नभई जनताको विश्वासको जिम्मेवारी भएको उनको भनाइ छ।
युवा पुस्ताको भावना तथा जेनजी आन्दोलनका जायज मागप्रति समर्थन जनाउँदै देउवाले परिवर्तनका नाममा कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका ऐतिहासिक संघर्ष तथा बलिदानलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने भाष्य स्वीकार्य नहुने बताएका छन्। युवाहरूले अघि बढ्दा सामाजिक सञ्जालका भ्युज वा भ्रामक प्रचारभन्दा विवेक र दायित्वबोधलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।
वर्तमान सत्ता समीकरणतर्फ संकेत गर्दै देउवाले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन जित्ने नेता दीर्घकालसम्म स्मरणीय रहने बताएका छन्। ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको आकांक्षा पूरा गर्नुपर्ने र राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नुपर्ने उनको भनाइ छ। लोकतन्त्रमा जनता नै सर्वोपरि हुने भएकाले यो तथ्य कसैले बिर्सन नहुने उनले उल्लेख गरेका छन्।
संसदमा कांग्रेसको अंकगणित जस्तोसुकै भए पनि २००७ सालयताका राजनीतिक परिवर्तनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्दै देउवाले वर्तमान संविधानको संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने धारणा राखेका छन्।
कांग्रेसभित्र देखिएको मतभेद र कार्यकर्तामा बढेको निराशाप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीको विवादले राष्ट्रियता नै कमजोर पार्न सक्ने चेतावनी दिएका छन्। त्यसैले कांग्रेसलाई तत्काल एकताबद्ध बनाउनुपर्ने उनको आग्रह छ।
माओवादी सशस्त्र द्वन्द्वदेखि पार्टीभित्रका जटिल विवादसम्म समाधान गरेको आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको पनि देउवाले बताएका छन्। २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको औँल्याएका छन्।
सार्वजनिक जीवनमा नीति, कानुन, संविधान र नैतिकतालाई सर्वोच्च प्राथमिकता दिएको दाबी गर्दै देउवाले आफ्नो जीवन खुला किताबजस्तै रहेको बताएका छन्। उनले जीवनभर मुलुक, लोकतन्त्र र जनताको सर्वोत्तम हितका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।






