आज राष्ट्रियसभा बैठक बस्दै, पाँच संसदीय समितिको बैठक पनि



काठमाडौँ, साउन २८ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा को बैठक आज बस्दैछ। बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने कार्यसूची रहेको छ।

आजको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने भएको छ। उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच, आज संघीय संसद्का पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा उपसमितिले तयार पारेका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ मा परेका संशोधन प्रस्तावबारे संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। समितिले खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।

महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिबारे छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको