पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति एमाले महासचिव पोखरेलको आपत्ति, तत्काल रिहाइको माग



काठमाडौँ, साउन २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।

महासचिव पोखरेलले समाचार लेखेको वा प्रकाशित गरेको विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी र गैरकानुनी कदम भएको बताएका छन्। उनले समाचारको विषयवस्तु वा स्रोतप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा जाने तथा कानुनी उपचार खोज्नेलगायतका वैधानिक विकल्प हुँदाहुँदै प्रहरीले सिधै पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पत्रकार श्रेष्ठको निडर तथा साहसिक पत्रकारिताको प्रशंसा गरेका छन्।

अग्रज पत्रकारहरूको आवाज दबाउने प्रयासले समाजमा रहेका महत्वपूर्ण सत्य र रहस्यहरू सार्वजनिक हुनबाट रोक्न सक्ने भन्दै उनले यस्तो प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेका छन्।

पोखरेलले श्रेष्ठमाथिको गिरफ्तारीलाई गैरन्यायिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै राज्यको उक्त कदमको भर्त्सना गरेका छन्। साथै उनले पत्रकार श्रेष्ठलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गरेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको