सप्तरी, साउन २९ । सप्तरीका विभिन्न स्थानीय तहबाट हराएका २६ जनामध्ये प्रहरीले २० जनालाई सकुशल फेला पारेको छ। साउन १ देखि २३ गतेसम्म परेका निवेदनका आधारमा खोजी गर्दा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा १२ महिला, १२ बालिका, एक बालक र एक पुरुष गरी २६ जना हराएका थिए। खोजीका क्रममा १० महिला, आठ बालिका, एक बालक र एक पुरुष गरी २० जनालाई सकुशल फेला पारिएको हो।
फेला परेका अधिकांशलाई सीमावर्ती भारतीय बजार क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।
हराएकामध्ये अझै दुई महिला र चार बालिका गरी छ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन प्रहरी टोली सक्रिय रूपमा परिचालन गरिएको छ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइबाट खोजीलाई तीव्रता दिनुका साथै सीमावर्ती भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरिरहेको जनाएको छ।
बेपत्ता व्यक्तिहरूको खोजीका लागि सम्भावित स्थानमा निगरानी बढाइएको र उपलब्ध सूचनाका आधारमा अनुसन्धान तथा खोजी कार्य अघि बढाइएको प्रहरीको भनाइ छ।






