काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त



काठमाडौं , साउन २९। काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले मेरिटका आधारमा बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो। समितिको सिफारिसपछि उनलाई उपकुलपतिमा नियुक्त गरिएको हो।

बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौं विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति भएको बताइएको छ।

बरालले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्।

ऊर्जा तथा इन्धन, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्स उनको प्रमुख विज्ञताको क्षेत्र हो।

काठमाडौं विश्वविद्यालयमा उनले ऊर्जा, वातावरण, बायोमासबाट ऊर्जा उत्पादन, थर्मोडाइनामिक्स, फ्लुइड मेकानिक्स, हिट ट्रान्सफर, इन्टरनल कम्बसन इन्जिन तथा हिट एन्ड पावर इन्जिनियरिङलगायत विषय अध्यापन गर्दै आएका छन्।

उपकुलपति नियुक्तिका लागि काठमाडौं विश्वविद्यालयमा ३५ जनाले आवेदन दिएका थिए। आवेदन दिएका उम्मेदवारमध्ये १० जनाको छोटो सूची सार्वजनिक गरी प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। त्यसपछि मेरिटका आधारमा बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको