हजाम समुदायको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न उपसभामुखलाई ज्ञापनपत्र



श्याम कुमार ठाकुर
सिरहा, साउन ३०। उपसभामुख रुबीकुमारी ठाकुरले दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्थासँगै समाजस्तरबाटै प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा सामाजिक विकृतिका रूपमा अझै कायम रहेकाले यसको अन्त्यका लागि परिवार, समुदाय र राज्यका सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिइन् ।

उनले छोरीको विवाहमा दाइजो नदिने र छोराको विवाहमा दाइजो नलिने संस्कार विकास गर्न आग्रह गरिन् । दाइजोका नाममा कसैमाथि दबाब दिने, दाइजो माग्ने वा लिने–दिने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिविरुद्ध कानुनी कारबाही हुने उनले स्पष्ट पारिन् ।

दाइजोका कारण कुनै महिला वा परिवारमाथि अन्याय, हिंसा वा दबाब परेको अवस्थामा आफूलाई जानकारी गराउन आग्रह गर्दै उपसभामुख ठाकुरले आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा सिरहा नाई समाजका तर्फबाट संचारकर्मी श्यामकुमार ठाकुरले हजाम (ठाकुर) समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र उपसभामुख ठाकुरलाई बुझाए ।

ज्ञापनपत्रमा हजाम ठाकुर समुदायको वास्तविक सामाजिक, आर्थिक, शैक्षिक तथा जनसांख्यिक अवस्थाबारे अध्ययन गरी आधिकारिक तथ्यांक तयार गर्न माग गरिएको छ ।

त्यस्तै, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, उच्च तथा प्राविधिक शिक्षामा पहुँच, युवाका लागि सीपमूलक तालिम, रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न आग्रह गरिएको छ ।

समुदायका महिला तथा युवाको नेतृत्व विकास, हजाम ठाकुर समुदायको इतिहास, संस्कृति र पहिचानको संरक्षण तथा राज्यका विभिन्न निकायमा योग्यता, समावेशिता र समानताको आधारमा न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै ठाकुरले समुदायका माग विशेषाधिकारका लागि नभई समान अधिकार, समान अवसर, सम्मानजनक पहिचान र न्यायोचित प्रतिनिधित्वका लागि भएको स्पष्ट पारे ।

ज्ञापनपत्र ग्रहण गर्दै उपसभामुख ठाकुरले हजाम ठाकुर समुदायको शिक्षा, रोजगारी, नेतृत्व विकास तथा राजनीतिक सहभागिता अभिवृद्धिका विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले सामाजिक कुरीति अन्त्यसँगै समुदायको समग्र विकासका लागि आन्तरिक एकता र सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।

नाई सहयोग संस्था नेपालको अधिवेशनमा समुदायको एकता, सामाजिक सुधार, अधिकार, शिक्षा, रोजगारी तथा राजनीतिक सहभागितालगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार २०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको