नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्दै



काठमाडौं, साउन ३०  । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। साउन दोस्रो साता उद्घाटन गरिएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको छ।

आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक करिब १५० देखि २०० वटा आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्गबाट आवतजावत गरिरहेका छन्। ती सवारीसाधनलाई निःशुल्क प्रवेश दिइएको छ।

सर्वसाधारणका लागि सञ्चालन गर्नुअघि अन्तिम चरणको सुरक्षा परीक्षण र आपत्कालीन अभ्यास भइरहेको छ। सुरुङभित्र आगलागी हुँदा उद्धार तथा नियन्त्रण गर्ने विषयमा मक्क ड्रिलसमेत सम्पन्न भइसकेको छ। अभ्यासमा काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह सहभागी भएका थिए।

पन्थीका अनुसार सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गरेपछि त्यसको अध्ययन र स्वीकृतिपश्चात् सुरुङमार्ग चरणबद्ध रूपमा व्यावसायिक सञ्चालनमा ल्याइनेछ। सुरुवाती चरणमा साना सवारीसाधनलाई सीमित गतिमा सञ्चालन गर्न दिने तयारी छ। आगामी सोमबारदेखि साना सवारीसाधनलाई अनुमति दिने तयारी भइरहेको छ।

मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ। सरकारले सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर (टोल) निर्धारण गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार ०७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको