इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी



एजेन्सी, साउन ३० । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको भूकम्प करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ। भूकम्पपछि लगातार परकम्पसमेत आएका छन्। शक्तिशाली धक्का महसुस भएपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ गएका थिए।

इन्डोनेसियाको राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायत क्षेत्रमा करिब एक मिनेटसम्म शक्तिशाली कम्पन महसुस भएको थियो। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो जनधनको क्षति भएको सूचना प्राप्त भएको छैन।

भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई मध्यनजर गर्दै इन्डोनेसियाली अधिकारीले चेतावनी जारी गरेका थिए। बीएमकेजीका अनुसार विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी छालसमेत देखिएका छन्।

यसैबीच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पका कारण अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।

इन्डोनेसिया भूकम्प तथा सुनामीको उच्च जोखिममा रहेको मुलुक हो। प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।

स्रोतः बीबीसी

प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको