जनकपुरधाम, साउन ३० । मिथिलाञ्चलका नवविवाहित महिलाले दाम्पत्य जीवनमा प्रेम, सुख र समृद्धिको कामना गर्दै मनाउँदै आएको मधुश्रावणी पर्व आज विधिपूर्वक समापन हुँदैछ। साउन कृष्ण पञ्चमी अर्थात् मौना पञ्चमीका दिन सुरु भएको पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने मैथिल परम्परा छ।
विवाह भएको पहिलो वर्ष नवविवाहिताले माइतीघरमा मनाउने यस पर्वमा पति पक्षबाट पठाइएका खाद्य सामग्री, नयाँ वस्त्र तथा आभूषण प्रयोग गरिन्छ। पर्व अवधिभर व्रतालुले भगवान् शिव, देवी गौरी र विषहराको पूजा आराधना गर्दै दैनिक कथा श्रवण गर्ने परम्परा छ।
मधुश्रावणीको विशेष आकर्षण ‘फूललोढी’ हो। व्रतालु नवविवाहिता आफ्ना सखी–सहेलीसँग सामूहिक रूपमा फूल तथा बेलपत्र सङ्कलन गर्दै प्रणयभावका गीत गाउने र रमाइलो गर्ने गर्छन्। सङ्कलित फूल भोलिपल्ट शिव, गौरी र विषहराको पूजामा प्रयोग गरिन्छ।
पर्वको १३ औँ दिन गरिने ‘टेमी’ विधि पनि मधुश्रावणीको महत्वपूर्ण परम्परा हो। परम्परागत रूपमा कपासको बत्तीको लप्काले घुँडा डाम्ने चलन रहे पनि पछिल्लो समय नयाँ पुस्ताले त्यसको विकल्पमा चन्दनको लेप लगाउन थालेका छन्।
मधुश्रावणीले मैथिल समाजमा दाम्पत्य प्रेम, पारिवारिक सद्भाव र सामाजिक एकतालाई बलियो बनाउने विश्वास गरिन्छ। पहिले केही समुदायका महिलाले मात्र मनाउने यो पर्व पछिल्लो समय मिथिलाका विभिन्न समुदायले साझा रूपमा मनाउन थालेका छन्। पर्व समापनसँगै पूजा अवधिभर सङ्कलन गरिएका फूल तथा बेलपत्र नदी वा तलाउमा विसर्जन गर्ने चलन छ।




