देउवा स्वदेश फर्किएसँगै चर्कियो कांग्रेसको आन्तरिक विवाद



काठमाडौं, साउन ३१ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किएसँगै पार्टीभित्रको विवाद थप पेचिलो बनेको छ। देउवाको आगमनपछि कांग्रेसभित्र सहमति र एकताको वातावरण बन्ने अपेक्षा गरिए पनि पछिल्ला गतिविधिले विवाद झन् गहिरिएको संकेत गरेको छ।

बिहीबार स्वदेश फर्किएका देउवा विमानस्थलबाट काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए। त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारप्रति असन्तुष्टि जनाएका थिए। विशेषगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानप्रति आक्रोश व्यक्त गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

शुक्रबार कांग्रेसको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै देउवाले तत्काल पार्टी एकताभन्दा पछिल्ला गतिविधिको पुनरावलोकन आवश्यक रहेको धारणा राखे। उनले विशेष महाधिवेशनका नाममा पार्टीको विधि, विधान र पद्धति मिचिएको आरोप लगाउँदै उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै टिप्पणी नगर्ने बताए।

सर्वोच्च अदालतले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने यसअघिको फैसलामाथि पुनरावलोकनका लागि गत साउन २१ गते निस्सा दिएपछि कांग्रेसको विवाद थप जटिल बनेको हो। देउवा पक्षले अदालतको अन्तिम फैसला आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्दै थापा नेतृत्व स्वीकार गर्न हतार नगर्ने संकेत गरेको छ।

शनिबारको भेलामा नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिले नै निरन्तरता पाउनुपर्ने धारणा राखिएको छ।

यसैबीच कांग्रेसको आगामी महाधिवेशनको मितिलाई लिएर पनि विवाद बढेको छ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर, देउवा पक्ष उक्त निर्णय रोक्न सर्वोच्च अदालत जाने तयारीमा रहेको नेताहरूले बताएका छन्।

अदालतले अन्तरिम आदेश नदिए निर्धारित समयमै महाधिवेशन अघि बढाउने तयारी थापा पक्षको छ। यस्तो अवस्थामा कांग्रेसमा समानान्तर गतिविधि बढेर पार्टी औपचारिक रूपमा विभाजन हुन सक्ने जोखिमसमेत देखिएको छ।

यद्यपि कांग्रेस नेता रामहरि खतिवडाले देउवा पार्टी एकताको पक्षमा रहेको र सबै पक्षलाई समेटेर समाधान खोज्न इच्छुक रहेको दाबी गरेका छन्। राजनीतिक सहमति नजुटे कांग्रेसको विवाद अब अदालतको आदेश र सम्भावित फैसलाले निर्णायक मोड लिने देखिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको