ट्रम्पको दाबीपछि इरानको कडा जवाफ ,‘एक ट्वीटबाट होर्मुज कब्जा गर्न सकिँदैन’



एजेन्सी, साउन ३१ । होर्मुज जलडमरूमध्यलाई कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि इरानले कडा जवाफ फर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका थिए। ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानले कडा प्रतिक्रिया जनाएको हो।

इरानले रणनीतिक रूपमा महत्वपूर्ण मानिने यो जलमार्ग कुनै ट्वीट, युद्धपोत वा राजनीतिक घोषणाका आधारमा कब्जा गर्न नसकिने स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले अमेरिकी दाबी अस्वीकार गर्दै होर्मुज जलडमरूमध्य आफ्नो निगरानी र नियन्त्रणमै रहने बताएका छन्।

इरानका उपविदेशमन्त्री काजम गरीबाबादीले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको भनाइको प्रतिक्रिया दिएका छन्। उनले होर्मुज जलडमरूमध्यलाई कुनै ट्वीट, विमानवाहक युद्धपोत, आदेश वा चुनावी भाषणका आधारमा कब्जा गर्न नसकिने बताएका छन्।

उनले इरानले आफ्नै सर्तअनुसार जलमार्ग सञ्चालन गर्ने दाबी गर्दै अमेरिकाविरुद्ध जारी संघर्षमा आफ्नो नाकाबन्दी अमेरिकाले पराजय स्वीकार नगरेसम्म जारी रहने बताएका छन्।

इरानको केन्द्रीय सैन्य कमान्डका प्रवक्ता इब्राहिम जोल्फघारीले पनि अमेरिकाको दाबीलाई अस्वीकार गरेका छन्। उनले अमेरिकी दाबीलाई झुटो र मनगढन्ते भन्दै इरानी सेनाको अनुमति तथा निगरानीबिना कुनै पनि व्यावसायिक जहाज वा तेल ट्यांकरका लागि उक्त जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सम्भव नभएको बताएका छन्।

इरानका शीर्ष कूटनीतिज्ञ अब्बास अराघचीले पनि अमेरिकामाथि गुप्तचर असफलता र रणनीतिक रूपमा गलत आकलन गरेको आरोप लगाएका छन्।

ट्रम्पले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा इरानलाई पूर्ण रूपमा पराजित गरेपछि होर्मुज जलडमरूमध्यलाई अमेरिकाको हिस्सा घोषणा गर्न सक्ने बताएका थिए।

तर, त्यसपछि द वाल स्ट्रिट जर्नलले ह्वाइट हाउसका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै ट्रम्पको उक्त टिप्पणी मजाकका रूपमा गरिएको जनाएको थियो।

यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत होर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबीसमेत गरेका थिए।

होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापार मार्गमध्ये एक हो। फारसको खाडी र ओमानको खाडीलाई जोड्ने यो जलमार्ग विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

त्यसैले यहाँ उत्पन्न हुने सैन्य वा राजनीतिक तनावले विश्वव्यापी तेल बजार, ऊर्जा आपूर्ति र समुद्री व्यापारमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

अमेरिका र इरानबीच जारी तनावका बीच होर्मुज जलडमरूमध्यलाई लिएर दुवै पक्षबाट आएका पछिल्ला अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको