जनकपुरधाममा झुलनोत्सव सुरु, मठमन्दिरमा बढ्यो चहलपहल



जनकपुरधाम, साउन ३१ । जनकपुरधाम सहितको क्षेत्रमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको झुलनोत्सव शनिबारदेखि सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यस पर्वका अवसरमा जनकपुरधामका विभिन्न मठमन्दिरमा भगवान् सीताराम तथा राधाकृष्णलाई आकर्षक झुलामा झुलाउने परम्परा छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार झुलनोत्सवको परम्परा सन्त परम्पराको सुरुवातसँगै जोडिएको धार्मिक विश्वास छ। जनकपुरधाममा भने सन् १७३० मा जानकी मन्दिरका आदिमहन्त सुरकिशोर दास वैष्णवले यसको सुरुवात गराएको मानिन्छ। त्यसयता विभिन्न महन्थले निरन्तरता दिँदै आएका छन्।

झुलनोत्सव अवधिभर जानकी मन्दिरसहित रत्नसागर, विहारकुण्ड, अग्निकुण्डलगायतका मठमन्दिरमा साँझदेखि मध्यरातसम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गर्छन्। झुलामा भगवान् सीतारामलाई विराजमान गराएर झुलाउने तथा भजन, कीर्तन, कजरी र मलार गीत प्रस्तुत गर्ने परम्परा छ। मिथिलाको लोकसंस्कृति झल्काउने यस्ता कार्यक्रमले जनकपुरधामलाई उत्सवमय बनाउने गरेको छ।

पौराणिक मान्यताअनुसार त्रेतायुगमा राम र सीताले झुलेको सम्झनामा यो पर्व मनाउने गरिएको जानकारहरू बताउँछन्। झुलनोत्सवले मिथिलाको धार्मिक परम्परा, कला, संगीत र लोकजीवन संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यद्यपि पछिल्ला वर्षमा झुलनोत्सवको रौनक केही घट्दै गएको स्थानीयको गुनासो छ। गुठी संस्थानको उदासीनता तथा कतिपय मठमन्दिर महन्थविहीन हुँदा विगतजस्तो चहलपहल देखिन छाडेको बताइन्छ। यस वर्ष वर्षाका कारण धान रोपाइँ प्रभावित भएपछि ग्रामीण क्षेत्रबाट जनकपुर आउने श्रद्धालुको संख्या समेत घटेको छ।

धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको झुलनोत्सवको मौलिकता र गरिमा जोगाउन सम्बन्धित निकाय, मठमन्दिर व्यवस्थापन तथा स्थानीय समुदायले थप सक्रियता देखाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको