काठमाडौं , भदौ १। भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका सेठले नेपालमा उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनको भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध तथा रक्षा सहकार्यलाई थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहसँग शिष्टाचार भेट गर्ने तयारी छ। त्यस्तै, प्रधानसेनापति सिग्देलसँग जंगीअड्डामा द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, आपसी सहयोग र रक्षा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि चलिआएको छ। यो परम्परालाई दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सहकार्यको प्रतीक मानिन्छ।
नेपालका प्रधानसेनापति सिग्देलले पनि गत मंसिरमा भारतको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए।
जनरल सेठले ३० जुन २०२६ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहण गरेपछिको उनको पहिलो विदेश भ्रमण नेपालबाट सुरु भएको हो। त्यसैले उनको भ्रमणलाई कूटनीतिक तथा सामरिक दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।






